आफैंमाथि गोली प्रहार गर्न भाडाका सुटर, काठमाडौंबाट धार्मिक गुरु श्रीनिवास आचार्य पक्राउ



धार्मिक हिंसा बढाउने ध्येय राखी धर्मगुरु श्रीनिवास आचार्यले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीले दाबी गरेको छ।

काठमाडौंमा पक्राउ गरी विराटनगरमा आचार्यलाई सोमबार मोरङ प्रहरीले सार्वजनिक गरेको हो।

आचार्यमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ गरिएका दुई जनाको बयानका आधारमा प्रहरीको यस्तो दाबी आएको हो।

२५ चैत, २०७४ मा विराटनगरको राम जानकी मन्दिर परिसरको श्रीमद् भागवत सप्ताह पुराण वाचनका लागि आएका बेला आचार्यमाथि गोली प्रहार भएको थियो।

आचार्य सुनसरीको बराह नगरपालिका–६ चक्रघटीमा बस्छन्। ३१ वर्षीय आचार्य बाराका स्थायी बासिन्दा हुन् । केही दिनअघि मात्र न्युरो अस्पतालबाट डिस्चार्ज गरेपछि उनी काठमाडौं पुगेका थिए । गोली प्रहार भएपछि उनी तीन साता अस्पतालमा बसेका थिए।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीका अनुसार गोली प्रहार गरिएको अभियोगमा चितवन भरतपुर–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ का ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो । मोरङबाट लेखिएको यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं।

एसपी बीसीले भने, ‘अनुसन्धानका क्रममा भाडाका मान्छे लगाएर आफैंमाथि गोली प्रहार गर्न लगाएको खुल्यो । धार्मिक हिंसा भड्काउने उद्देश्य पनि देखिन्छ ।’ घटना पत्ता लगाउन मोरङ प्रहरीले एक महिना अनुसन्धान गरेको थियो।

एसपी बीसीले थपे, ‘घटनाको छानबिनका लागि गठित प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेको थियो। आचार्यले नै भाडाका व्यक्ति प्रयोग गरी गोली हान्न लगाएको पाइयो।’

गोली चलाउनेमध्येका एक जना चौधरीले, धर्म र देशका लागि केही गर्नुपर्छ भनी गोली हान्न उक्साएको प्रहरीलाई बयान दिएका थिए।

उनको बयान सुनाउँदै एसपी बीसीले भने, ‘मलाई गोली हान्न सिकाएर धर्म र देश जोगाउन उक्साउने आचार्य श्रीनिवास हुन्। गोलीसहितको पेस्तोल दिए।’

अर्का अभियुक्त अधिकारीका अनुसार आचार्यले घरमा राखेको गोलीसहितको पेस्तोल गोली प्रहारपछि आचार्यलाई नै फिर्ता गरिएको छ। अधिकारीले एक वर्षअघिको योजनामुताबिक गोली प्रहार गरिएको बयानमा उल्लेख गरेका छन्।

‘हातमा हान्ने योजना थियो, चौधरीले मिसफायर गर्दा कुममा लाग्यो,’ प्रहरीसँगको बयानमा अधिकारीले भने। धार्मिक आन्दोलनले सार्थक रूप नलिएपछि आचार्यले हिंसा भड्काउने उद्देश्यले गोली चलाउन लगाएको प्रहरीको निष्कर्ष छ।

अनुसन्धानले खुलाएको तथ्य अगाडि सार्दै एसपी बीसीले भने, ‘यस्तो घटनाबाट जनता र धर्मगुरुहरू उक्सिन सक्ने भएकाले उनले यो बाटो रोजी विश्वास पात्र अधिकारीलाई गोलीसहित हतियार व्यवस्थापन गर्न लगाएको देखिन्छ।’

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...