नेपाल आउनु अघि मोदीलाई भारतीय कूटनीतिज्ञले भने ‘नेपाल र नेपालीलाई आश्वस्त पार्नुस्’



नयाँदिल्ली — भारतीय कूटनीतिज्ञ र परराष्ट्र मामिलाका जानकारहरूले नाकाबन्दीजस्ता घटना नदोहोरिने कुरामा नेपाल र नेपालीलाई आश्वस्त पार्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका छन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनीहरूले तिक्ततापूर्ण विगतलाई बिर्संदै केपी ओली नेतृत्वको सरकारसँग मिलेर काम गर्न चाहेको सन्देश प्रवाह गर्न मोदीलाई सुझाएका हुन् ।

नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुद मोदीको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा थप योगदान दिने बताउँछन् । एक महिनाको अन्तरालमा दुवै मुलुकका तर्फबाट उच्चस्तरीय भ्रमण हुनु सकारात्मक भएको उनको भनाइ छ । यो भ्रमण दुई मुलुकबीचको सम्बन्ध सुधार गर्न मात्र नभई ओली र मोदीबीच तिक्तता हटाएर व्यक्तिगत तहमा सम्बन्ध विस्तार गर्ने अवसर पनि भएको उनले बताए । ‘मोदी–ओलीबीच उच्चस्तरको सम्बन्ध विकास हुन सक्छ, त्यसका लागि उहाँहरूबीच दिल्लीमा जस्तै एक्लाएक्लै अनौपचारिक भेट हुनु आवश्यक छ,’ उनले भने । प्रधानमन्त्री ओलीको गत महिनाको भारत भ्रमणका बेला औपचारिक राजनीतिक भेट सुरु हुने अघिल्लो दिन नै भारतीय प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा एक्लाएक्लै अनौपचारिक भेटवार्ता थियो । आजको कान्तिपुर दैनिकले छापेको छ

नयाँ आश्वासन र समझदारी गर्नेभन्दा पनि चालु परियोजनाको छिटो कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री मोदीले प्रतिबद्धता जनाउनुपर्ने सुद बताउँछन् । ‘अब कुराभन्दा पनि काम गरेर देखाउने बेला भएको छ, विगतका परियोजनाको प्रभावकारी कार्यान्वयन हुनासाथ सम्बन्ध पनि सुमधुर हुँदै जान्छ,’ उनले बताए ।

भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसका विदेश मामिला सम्पादक शुभजित रोय पनि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो तर्फबाट सकेसम्म न्यानोपन र हार्दिकता देखाउनुपर्ने बताउँछन् । मोदी र ओलीबीचको तेस्रो भेटले विगतमा देखिएको अविश्वास हटाउन मद्दत पुर्‍याउने उनको विश्वास छ । ‘औपचारिक रूपमा नभने पनि मोदीले आफ्नो हाउभाउ र व्यवहारबाट विगतको जस्तो गल्ती नदोहोरिने कुरामा नेपाल र नेपालीलाई आश्वस्त पार्न सक्नुपर्छ, अनि मात्र सम्बन्धले नयाँ उचाइ लिनेछ,’ उनले भने । भारतमा लोकसभा चुनावको पारो चढिसकेकाले आन्तरिक राजनीतिमा पर्न सक्ने प्रभावलाई समेत मध्यनजर गर्दै मोदीले नेपाल भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने उनको सुझाव छ ।

विदेश मामिलाका विश्लेषक तथा लेखक जोरावर दौलत सिंह भारतीय सहयोग तथा लगानी रहेका परियोजनाको कार्यान्वयनमा भारतले बढी जोड दिनुपर्ने बताउँछन् । त्यसले सम्बन्ध सुधारमा सहयोग गर्ने उनको धारणा छ । पछिल्लो समय नेपालसँगको सम्बन्ध विस्तारमा भारत सरकारले लिएको अग्रसरता सकारात्मक रहेको उनले बताए । ‘अहिले आएर भारतीय पक्षमा छिमेकीसँगको सम्बन्धलाई रणनीतिक हिसाबले हेर्नु हुँदैन भन्ने सोच विकास भएको छ, त्यो आफैँमा सकारात्मक हो,’ उनले भने, ‘नेपाल र भारत दुवैले विगतका कमीकमजोरीलाई बिर्सेर आपसी सम्बन्धलाई फराकिलो ढंगले हेर्नुपर्छ ।’ परियोजना कार्यान्वयनमा कर्मचारीतन्त्रको भूमिका निर्णायक हुने भए पनि राजनीतिक नेतृत्वमा विकास हुने सम्बन्धले त्यसलाई गति दिन सक्ने दिल्लीस्थित थिंक ट्यांक सेन्टर फर पोलिसी रिसर्चसँग आबद्ध सिंह बताउँछन् ।

नेपालको नेतृत्वले पनि भारतसँगको सम्बन्धलाई दीर्घकालीन हिसाबले हेर्नुपर्ने सिंहको धारणा छ । ‘नेपालको राजनीतिक नेतृत्वले स्टेटम्यानसिप देखाउने राम्रो अवसर पनि हो, त्यसो गरिएको खण्डमा नेपाल–भारत सम्बन्ध दीर्घकालसम्मका लागि सुमधुर बन्छ,’ उनले भने । कूटनीतिज्ञ तथा पूर्वराजदूत सुद पनि भ्रमणलाई अवसरका रूपमा लिन नेपाल पक्ष पनि गम्भीर हुनुपर्ने बताउँछन् ।

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...